''छालाका समस्या कालो पोतो कस्तो प्रकारको समस्या हो

छालाका समस्या
कालो पोतो कस्तो प्रकारको समस्या हो ?
कालो पोतो छालामा देखिने एक प्रकारको समस्या हो । छालामा कालो, खैरो तथा खरानी रंगको दाग आएर अनुहार कुरुप देखिन्छ । यो कुनै प्रकारको संक्रमण तथा सरुवा रोग भने होइन । न त कुनै एलर्जी नै हो ।
पोतो आउने कारण के-के हुन् ?
यो खासगरी मेलानोटाइस सेलका कारण देखा पर्छ । यो अनुहारको छालाको माथिल्लो भागमा हुने कोष हो । यसले एक प्रकारको पिग्मेन्टेसन पैदा गर्छ । छालको माथिल्लो भागमा उत्पन्न हुने मेलानिन घामको संसर्गमा आउँदा त्यसले पोतोको रूप लिन्छ । त्यसैले पनि कालो पोतो गर्भवती महिला तथा घाममा बढी बस्ने मानिसमा देखिन्छ । सूर्यको किरणबाट निस्कने विकिरणले अनुहारमा यस्तो समस्या उत्पन्न गर्छ । खैरो रंगको छाला भएकाहरूको अनुहारमा पोतो आउने सम्भावना प्रबल हुन्छ । घाममा धेरै बस्ने महिलाहरूमा पनि यो समस्या देखा पर्छ ।
कस्तो छालामा पोतो आउँछ ?
मानिसको छालाको प्रकृति पाँच प्रकारको हुन्छ । त्यसमध्ये सेतो छालामा पोतो आउने सम्भावना निकै कम हुन्छ । खैरो रंगको छालामा बढी पोतो देखा पर्छ ।
अनुहारमा चायाँ-पोतो आउने मुख्य कारण के हुन् ?
वंशानुगत, थाइराइडको समस्या, तनाव, औषधि, घाममा बस्नुपर्ने पेसा तथा महिनावारीको गडबडी आदिका कारण यो समस्या देखिन्छ ।
गर्भावस्थामा किन चायाँ-पोतो देखिन्छ ?
गर्भावस्थामा एमएसएच हार्मोन बढ्ने भएकाले चायाँ देखिन्छ । यस्तो समयमा खानपानमा सन्तुलन भएन भने पनि अनुहारमा चायाँ देखिन्छ । त्यसैगरी गर्भधारण नहुने औषधि प्रयोग गर्दा पनि चायाँ देखिन्छ ।
यो समस्या समाधान हुने सम्भावना कस्तो छ ?
यसको सामाधानका लागि लामो समय लाग्छ । त्यसैले अनुहारमा भरसक चायाँ-पोतो आउन दिनु हुँदैन, आइहाल्यो भने पनि त्यसको उपचारका लागि धैर्य चाहिन्छ । धैर्य गर्न सके बिस्तारै यो समस्या कम हुँदै जान्छ ।
डा. सुदेश्ना श्रेष्ठ, यौन, छाला तथा चर्म रोग विशेषज्ञ, सिद्धि पोलिक्लिनिक, डिल्लीबजार

No comments:

| Copyright © 2013 खबर भण्डार