बिदेश जाने बेला एयरपोर्टमै सुरु हुन्छ दुःख र यातना नेपालीबाट सुरु हुन्छ

मासिक तलब : १ हजार पाँच सय ५० रिङ्गेट
दलालमार्फत मलेसियामा कामका लागि आएको यस्तो प्रस्तावमा सतवरिया–९ जलकुण्डीका इन्द्र खड्काले निकै लाभ देखे। मलेसिया पुगेर फर्कनेहरुले धेरै कमाइ गरेको देखेका र सुनेका थिए पनि। आफूले पनि कसो नकमाइएला? धेरै कमाउने यही सपना बोकेर उनी १२ जेठको २ बजे मलेसिया उडे।
कल्पनामा मलेसिया अनि सुन्दर भविष्य घुमिरहेको थियो। स्थानीय समयअनुसार राति ९ बजे उनी मलेसिया ओर्लिए। त्यतिखेर कल्पनाभन्दा धेरै फरक अनुभूति भयो। मलेसिया ओर्लिएलगत्तै उनले नेपाल फर्कनेसम्मको योजना बुन्न थाले। एयरपोर्टमै यातना खेप्नुपरेको सुनाउँदै उनले आइतबार नागरिकसँग टेलिफोनमा भने, 'एयरपोर्ट झरेपछि बेकार आइएछ भन्ने लाग्यो, सबै उत्साह खत्तम भइसकेको थियो।'
विमानस्थलमा श्रम सम्झौता भएको कम्पनीबाट उनलाई लिन कोही आएका थिएनन्। कम्पनीका प्रतिनिधि नभएपछि उनलाई प्रहरीले ठूलो हलभित्र छिरायो। उनी त्यहाँ प्रवेश गरेपछि झनै भावविह्वल बने। 'कति हो कति नेपाली भुइँमै पल्टिरहेका थिए,' उनले सम्झे, 'कति त खानै नपाएर भोकले लखतरान परेका देखिन्थे।'
मध्यरातसम्म आफूलाईलिन कोही नआएपछि उनी पनि अरु नेपालीसँगै भोकै चिसो भुइँमा सुते। आफूले लगेको झोला सिरानी हाले। तर रातभर निद्रै परेन। ओल्टोकोल्टो गरिरहे। 'पिउने पानीसमेत नपाइने रैछ,' उनले भने, 'नेपालीलाई त यहाँका पुलिसले पशुभन्दा पनि तल्लो व्यवहार गर्दारैछन्।'
ट्वाइलेट बाहिर थियो, ट्वाइलेट जाँदा पासपोर्ट बुझाउनुपर्थ्यो,' खड्काले भने, 'पाँच मिनेटभन्दा ढिलो गरेपछि हान्नै खोज्थे।' शौचालय पनि एक पटकमा दुई जनालाई मात्र जान दिन्थ्यो।'
आफू बसेकै हलको साइडमा सिसैसिसाको अर्को हल। त्यो हलभित्र पनि थुप्रै नेपाली टिठलाग्दो अवस्थामा देखिन्थे। इन्द्रले थाहा पाए– तीन दिनसम्म कम्पनीका प्रतिनिधि लिन नआए त्यही हलमा हुलिँदोरैछ।' प्रहरीले तीन दिन कम्पनीका प्रतिनिधि लिन नआएका नेपालीको फोन, पर्स, झोला सबै खोसेर त्यही हलमा थुन्दोरहेछ। बाहिर निस्कनै नपाइने। कम्पनीसँग कुनै सम्पर्क नभएपछि प्रहरीका लागि अवैध बराबर भइने रहेछ। उक्त हलभित्र धेरै नेपाली महिलाले समेत कष्ट काटिरहेको उनले बताए।
अर्को दिन बिहान 'आज त लिन कसो नआउलान्' भन्ने लाग्यो। अर्को दिन दिउँसोसम्म पनि कोही सम्पर्कमा नआएपछि उनले दलालले दिएको कम्पनी मालिकको नम्बरमा फोन लगाए।
नेपालबाट कुनै सम्पर्कै नगरेर पठाइदिएछन्,' उनले भने, 'मलाई पठाएको भनेर बोसले थाहै पाएको रहेनछ।' सोही जानकारीका आधारमा कम्पनीबाट प्रतिनिधि आएर अर्को दिन दिउँसो २ बजे उनलाई निकालेका थिए। 'बल्ल बाँचियो जस्तो लागेको थियो,' उनले भने। एयरपोर्टबाट मुक्ति पाएर खड्का श्रम सम्झौता भएको कम्पनी सेपाङस्थित 'इवानी सेपाङ गोल्डकप रिसोर्ट' पुगे।

No comments:

| Copyright © 2013 खबर भण्डार